सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका सम्बन्धमा अन्तरक्रिया/छलफल कार्यक्रम सम्पन्न ।

सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ मा संशोधन भई नियमनकारी निकायहरुलाई थप जिम्मेवार बनाइएको परिप्रेक्ष्यमा धितोपत्र व्यवसायमा संलग्न सवै धितोपत्र व्यवसायीलाई जिम्मेवार वनाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न बोर्डले ऐनको व्यवस्था बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ तयार गरी हालै जारी गरिसकेको सन्दर्भमा बोर्डले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वित्तीय जानकारी इकाई (नेपाल राष्ट्र बैंक)को सहयोग तथा समन्वयमा हालै सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका सम्बन्धमा अन्तरक्रिया÷छलफल कार्यक्रम धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरको प्रमुख/प्रतिनिधि सहित करिव १२५ जनाको सहभागितामा सम्पन्न गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीको सभापतित्वमा भएको कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण तथा यस सम्बन्धमा धितोपत्र व्यवसायीको भूमिका बारेमा छुट्टाछुट्टै तीन वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । वित्तीय जानकारी इकाईका प्रमुख श्री रामु पौडेलले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा भएको व्यवस्थाहरुको चर्चा गर्दै सीमाभन्दा बढी कारोवार तथा शंकास्पद कारोवारको रिपोर्टिङ्गको वर्तमान अवस्था, वास्तविक धनी तथा ग्राहक पहिचान र सम्पुष्टि गर्ने तरिका, जोखिम व्यवस्थापन र मूल्याङ्कनको आधारका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भयो । यसै गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक श्री तेज प्रकाश प्रसाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापको ऐतिहासिक पृष्ठभूमि तथा यसका विभिन्न चरणहरुबारे जानकारी दिदैं सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको भूमिका तथा विभागले गर्ने कारवाही सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दे धितोपत्र व्यवसायीले आगामी दिनमा सम्पत्ति शुद्धीकरण सम्बन्धमा गर्नुपर्ने कार्य र यसको महत्वबारेमा बताउनुभयो । त्यसैगरी अर्का प्रस्तोता श्री हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको बर्तमान अवस्था तथा चुनौतीहरुबारे जानकारी दिदैं धितोपत्र व्यवसायीहरुले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा खेल्नुपर्ने भूमिका बारेमा प्रकाश पार्नु भयो । साथै धितोपत्र व्यवसायीहरुले शकांस्पद कारोबारको विषयमा सम्बन्धित निकायमा समयमा नै जानकारी नगरे दश लाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म जरिवाना तिनुपर्ने भएकोले सो जरिवानाबाट बच्न तथा अनुसन्धान कार्यमा सहयोग गर्न धितोपत्र व्यवसायीहरुले ग्राहकको स्पष्ट पहिचान राख्नुको साथै सीमाभन्दा बढीको कारोबार तथा शंकास्पद कारोबारको विवरण तोकिएको समयमा नै सम्बन्धित निकायमा पेश गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोर्डका उप–कार्यकारी निर्देशक श्री मुक्तिनाथ श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य तथा सम्पत्ति शुद्धीकरण निवारणमा बोर्डको भूमिका सम्बन्धमा प्रकाश पार्नु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले शेयर बजारमा वित्तीय मध्यस्थकर्ताको रुपमा धितोपत्र व्यवसायीको विशेष भूमिका हुनुका साथै शंकास्पद लगानी हुन नदिन तथा यसको जोखिमबाट बच्न धितोपत्र व्यवसायीहरु अझ सक्रिय र चनाखो भई यस विषयमा समयमा नै सम्बद्ध निकायमा रिपोर्टिङ्ग गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । यसबाट हालै जारी गरेको निर्देशनले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा ऐनले निर्दिष्ट गरेको व्यवस्थाहरुलाई कार्यान्वयन गर्न समेत सहज भई अन्तत्वगत्वा धितोपत्र व्यवसायी, नियमनकारी निकाय लगायत देशलाई नै समग्र रुपमा फाइदा पुग्ने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रमका सभापति तथा बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बोर्डले विशेष जोड दिएको र यसको पालनको लागि धितोपत्र व्यवसायीहरु तत्पर हुनुपर्ने विचार व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको छलफल तथा अन्तरक्रियामा सहभागी धितोपत्र व्यवसायीहरुको जिज्ञासालाई कार्यपत्र प्रस्तोताहरु र बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले सम्बोधन गर्नु भएको थियो । बोर्डका उप–कार्यकारी निर्देशक श्री कृष्णराज पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रम बोर्डका निर्देशक श्री अम्बिका प्रसाद गिरीले सञ्चालन गर्नुभएको थियो ।

मिति : २०७६।०३।०८