मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीसँग भेटघाट सम्पन्न ।

मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूसँग मिति २०७७।०९।०३ मा बोर्डको कार्यालय जावलाखेलमा भेट गरेको छ । प्रतिनिधिमण्डलको नेतृत्व मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष श्री मेख बहादुर थापाले गर्नुभएको थियो ।

उक्त अवसरमा बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूले एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । भेटमा एशोसियशनका नवनियुक्त अध्यक्ष श्री मेख बहादुर थापाले धितोपत्र बजार विकास र विस्तारका लागि मर्चेन्ट बैंकरले निभाउनुपर्ने भूमिकाका सन्दर्भमा एशोसियशनले पहलकदमी गर्ने बताउँदै बोर्डको विशेष सहयोगको अपेक्षा गर्नुभयो । त्यस्तै, एशोसियशनका निवर्तमान अध्यक्ष श्री धु्रब तिमिल्सिनाले धितोपत्र बजार सम्बन्धी नीति निर्माण गर्दा एशोसियशनसँग छलफल गरी बोर्डले उचित स्थान दिएको स्मरण गर्दै आगामी दिनमा समेत यसको निरन्तरता रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा बोर्ड अध्यक्ष श्री ढुंगानाज्यूले मर्चेन्ट बैंकर थप व्यवसायिक हुनुपर्ने तथा प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनुभयो । धितोपत्र बजारमा हालसालका दिनमा सकारात्मक परिवर्तन भइरहेको बताउँदै उहाँले यस बजारलाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, उहाँले बजार सहभागीहरुले लगानीकर्ताको हितलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्नुपर्ने बताउनुभयो । उक्त भेटमा बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले मर्चेन्ट बैंकिङ्ग र बजार विकासका सम्बन्धमा आफ्नो धारणा राख्नु भएको थियो ।