बोर्डद्वारा देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी Global Money Week 2026 सम्पन्न।

Organisation for Economic Cooperation and Development/International Network of Financial Education (OECD/INFE) ले] "Smart Money Talks" Theme राखी आव्हान गरेको यस बर्षको Global Money Week को संस्करण यही चैत्र २ देखी ८, २०८२ (16-22 March, 2026) सम्म नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि, मर्चेन्ट बैंकर असोसिएसन अफ नेपाल, स्टक ब्रोकर असोसिएसन अफ नेपाल, स्टक डिलर कम्पनीहरु, क्रेडिट रेटिङ्ग कम्पनीहरु तथा देशका विभिन्न क्याम्पस तथा विद्यालयहरुको सहकार्यमा सप्ताहव्यापी रुपमा विभिन्न देशव्यापी कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको छ।

बोर्डले Global Money Week 2026 (GMW2026) को सुरूवात मिति २०८२ चैत्र २ गते काठमाडौंमा  GMW2026 तथा अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा प्रविधिमा महिला (Women in IT) को सहकार्यमा नेपालका सूचना प्रविधिमा आवद्ध महिला तथा उक्त क्षेत्रमा अध्ययन गरीरहेका युवा/छात्राहरूमा केन्द्रित "पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम" को आयोजना गरी भएको थियो। प्रविधिमा महिला संस्थाकी निमित्त अध्यक्ष शिला कंसाकार कार्कीको सभापतित्व तथा बोर्डका नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका विभागीय प्रमुख डा. नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकी कार्यकारी प्रमुख श्री प्रविण पन्दाकको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका बारेमा बोर्डकी उपकार्यकारी निर्देशक श्री दिपा दाहालले प्रकाश पार्नु भएको थियो। कार्यक्रममा बोर्डको तर्फबाट निर्देशक श्री सनु खड्काले तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट वरिष्ठ आ.ई.टी अधिकृत श्री रन्जु कुमारी सिंहले प्रस्तुतीकरण गर्नुभएको थियो। कुल ९३ जना महिला सहभागी उपस्थित रहनु भएको उक्त कार्यक्रमको संचालन बोर्डकी सहायक निर्देशक श्री पुजा खनालले गर्नुभएको थियो। त्यस्तै सोही दिन बोर्डले GMW2026 कोअवसरमा राष्ट्रिय दैनिकहरू आर्थिक अभियान तथा कारोबारमा बालबालिका तथा युवाहरु लक्षित GMW2026 को मुख्य नारा सहित वित्तीय साक्षरता तथा धितोपत्र बजारसम्बन्धी सन्देशमूलक आधारभूत जानकारीहरुको मुख्य सन्देश प्रकाशन गरेको थियो। यसै अवसरमा धितोपत्र बजारका सम्पूर्ण सहभागीहरूले समेत आफ्ना आधिकारिक सामाजिक संजाल पेजमार्फत GMW2026 को मुख्य नारा सहित बालबालिका तथा युवाहरु लक्षित पुँजीबजार साक्षरता सम्बन्धी सामाग्रीहरू सप्ताहभर प्रकाशन गरेका थिए।

त्यस्तै, मिति २०८२ चैत्र ३ गते GMW2026 को अवसरमा धितोपत्र बोर्डको आयोजना तथा रेडियो नेपालको सहकार्यमा रेडियो नेपालमार्फत “बालबालिका तथा युवाहरु लक्षित वित्तीय साक्षरता तथा धितोपत्र बजारसम्बन्धी Global Money Week विशेष परिसंवाद” नामक ५० मिनेटको रेडियो कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त रेडियो कार्यक्रममा नेपाल सरकार, अर्थ मन्त्रालयका सह सचिव श्री महेश आचार्य, नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक श्री गुरू प्रसाद पौडेल, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. राधेश्याम प्रधान सहभागी हुनुहुन्थ्यो।

GMW2026 को मुख्य उद्देश्य युवा तथा विद्यार्थीमा केन्द्रित रहेको परिप्रेक्ष्यमा उक्त सप्ताहभर बोर्डबाट सातै प्रदेशका विभिन्न जिल्लाहरुमा कुल २७ वटा विश्वविद्यालय/क्याम्पस/कलेज/विद्यालयहरुमा अध्ययनरत कुल २०२० जना विद्यार्थीहरुलार्इ प्रत्यक्ष सहभागी गरार्इ वित्तीय साक्षरता तथा सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको थियो। कोशी प्रदेशको मोरङ र झापा जिल्ला, मधेश प्रदेशको सप्तरी र धनुषा जिल्ला, बागमती प्रदेशको मकवानपुर जिल्ला, गण्डकी प्रदेशको कास्की, स्याङ्जा र बागलुङ जिल्ला, लुम्बिनी प्रदेशको रुपन्देही, पाल्पा र बाँके जिल्ला, कर्णाली प्रदेशको सुर्खेत जिल्ला तथा सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाहरुमा उक्त कार्यक्रमहरू संचालन गरिएको थियो। साथै नेपाल स्टक एक्सचेन्ज लि., सिडिएससी एण्ड क्लियरिङ्ग लि, मर्चेन्ट बैंकर असोसिएसन अफ नेपाल, स्टक ब्रोकर असोसिएसन अफ नेपाल, स्टक डिलर कम्पनीहरु, क्रेडिट रेटिङ्ग कम्पनीहरुले समेत आफ्ना कार्यालयहरु रहेका देशभरीका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम संचालन गरेका थिए।

त्यस्तै GMW2026 को अवसरमा नेपाल धितोपत्र बोर्डको संयोजन तथा नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लि, मर्चेन्ट बैंकर एशोसियसन अफ नेपाल, स्टक ब्रोकर एशोसियसन अफ नेपाल, सम्पुर्ण क्रेडिट रेटिङ्ग कम्पनीहरू, सम्पूर्ण धितोपत्र व्यापारी कम्पनीहरू तथा Nepal Tourism and Hotel Management College (NTHMC) को सहकार्यमा मिति २०८२ चैत्र ०६ र ०७ गते पोखरा, कास्कीमा "तेस्रो GMW राष्ट्रियस्तर अन्तरक्याम्पस हाजिर जवाफ प्रतियोगिता" को आयोजना गरेको थियो। उक्त प्रतियोगितामा सातै प्रदेशका ३५ वटा कलेजबाट ३७ वटा टिमहरुको सहभागिता रहेकोमा प्रतियोगिताको दोस्रो चरणमा आठ वटा टिम छनौट भर्इ श्री पृथ्वी नारायण क्याम्पस, पोखराले प्रथम, श्री प्रसिडेन्सी कलेज अफ म्यानेजमेन्ट सार्इन्सेस्, चितवनले दोस्रो तथा त्रीवेणी इन्टरनेश्नल कलेज, पोखराले तेस्रो स्थान हासिल गरेका थिए।

उक्त प्रतियोगिताको पहिलो दिन (२०८२ चैत्र ०६) GMW2026 को मूख्य Theme अनुरूप विद्यार्थीलार्इ लक्षित “From Classroom to Capital Markets: How students can become Smart Investors” नामक Panel Discussion को आयोजना गरिएको थियो।उक्त Panel Discussion मा बोर्डकी उप कार्यकारी निर्देशक श्री दीपा दाहाल, नेपाल स्टक एक्सचेञ्ज लि.का का.मु. उप प्रबन्धक श्री मुराहरी पराजुली, मर्चेन्ट बैंकर असोसिएसन अफ नेपालका अध्यक्ष श्री रमेन्द्र रायमाझी, केयर रेटिङ्ग लि. का अध्यक्ष श्री आनन्द प्रकाश झा तथा पोखरा विश्वविद्यालयका पूर्व रजिस्टार प्रा.डा. दिपक बहादुर भण्डारी Panelists को रूपमा सहभागी हुनु भएको थियो भने Moderator को रूपमा बोर्डका सहायक निर्देशक श्री अजय ढुङ्गाना रहनुभएको थियो। साथै सोही दिनको दोस्रो सत्रमा स्टक ब्रोकर असोसिएसन अफ नेपालको तर्फबाट श्री जेलिना कँडेलले, सिडिएस एण्ड लि. का उप प्रबन्धक श्री योग राज जोशीले र इक्रा नेपाल लिको तर्फबाट श्री प्रचण्ड मान श्रष्ठले पुँजी बजार, धितोपत्र दलालको कामकारबाही, कारोबार तथा फर्छ्यौट प्रक्रिया र क्रडिट रेटिङ्गको आवश्यकता लगायतको सम्बन्धमा प्राविधिक प्रस्तुतिकरण गर्नुभएको थियो। दुर्इ दिनसम्म संचालन भएको उक्त प्रतियोगिताको प्रमुख अतिथि बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारी र विशेष अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री दयाराम पंगिनी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता NTHMC का अध्यक्ष श्री अशोक पालिखेले गर्नुभएको थियो। साथै उक्त कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक बहादुर शाख्य, पोखरा विश्वविद्यालयका पूर्व रजिस्टार प्रा.डा. दिपक बहादुर भण्डारी, पोखरा विश्वविद्यालय, Faculty of Management का डीन प्रा.डा. ज्ञानेश्वर शर्मा, NTHMC का प्रधानाध्यापक श्री प्रकाश रेग्मी लगायतका विशिष्ठ अतिथिहरू तथा बजार सहभागीहरूका प्रतिनिधिहरू, प्रतियोगिताका सहभागीहरु र सम्बन्धित कलेजहरुमा अध्ययनरत अन्य विद्यार्थीहरु तथा NTHMC मा अध्ययनरत विद्यार्थी तथा प्रधानाध्यापक समेत गरी करिब ३५० जनाको सहभागिता थियो।

GMW2025 को अवसरमा उल्लेखित कार्यक्रमहरू बाहेक स्नातक तह सम्मका विद्यार्थीहरूलार्इ लक्षित गरी बोर्डले School Of Management Tribhuvan University (SOMTU) को सहकार्यमा “Financial Literacy and Market Mis-Information” शिर्षकको Intercollege Speech Competition तथा सम्पूर्ण बजार सहभागीहरूको सहकार्यमा बोर्डले आयोजना गर्न लागेको “Smart Money Talks: What is your smart money message” शिर्षकको Reels Competition को समेत घोषणा गरेको छ र उक्त प्रतियोगिताहरू यो महिनाको अन्तिमसम्ममा संचालन गरी विजेताहरूलार्इ पुरस्कार प्रदान गरिने छ।  

GMW2026 को अवसरमा सप्ताहभर देशव्यापी रुपमा बोर्डले संचालन गरेका कार्यक्रमहरुबाट आम नागरिक विशेषगरी युवा तथा विद्यार्थीवर्गहरुलाइ वित्तीय शिक्षा, धितोपत्र बजारको गतिविधी तथा महत्वको सम्बन्धमा जानकारी प्राप्त भै वित्तीय साक्षरतामा अभिवृद्वि हुने र यसबाट धितोपत्र बजारमा नयाँ लगानीकर्ताहरु सुसूचित भै प्रवेश गर्न टेवा पुग्ने विश्वास बोर्डले लिएको छ।

मितिः २०८२।१२।१०