बीज पुँजी सम्बन्धमा।


बोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २९(२) मा रहेको व्यवस्था बमोजिम पहिलो योजना बाहेक अन्य योजनाका हकमा पहिलो योजनाको कार्य सम्पादनको आधारमा योजना व्यवस्थापकले कायम गर्नुपर्ने बीज पूँजीको प्रतिशत दर तोकेको छ।यससँगै अब योजना व्यवस्थापकले संचालन गर्ने योजनाहरूमा बोर्डले तोकेको निश्चित मापदण्ड पुरा गरेको अवस्थामा योजनाको आकारको  १० प्रतिशत वा ५ प्रतिशत बीज पुँजी राख्न सक्ने छन्। यस अघि योजना व्यवस्थापकले सबै योजनाहरूमा १५ प्रतिशत बीज पूँजी कायम गर्दै आएका थिए।बोर्डले खासगरी योजना संचालनको अनुभव, कार्य सम्पादन, गुणस्तर र नियम परिपालनाको स्थिति जस्ता सूचकहरूको आधारमा बीज पूँजीको प्रतिशत दर तोकेको छ।यो सुविधा उपयोग गर्ने क्रममा योजना व्यवस्थापकहरूको कार्य सम्पादन स्तरमा वृद्धि हुने, रेटिङ्गमा सुधार हुने र नियम परिपालनाको२ स्थिति समेत सुदृढ हुन गई सो को लाभ योजनाका इकाइधनीहरूलाई पुग्ने विश्वास बोर्डले लिएको छ।साथै, यसबाट पुँजी बजारमा सामूहिक लगानी कोषको आकार तथा सहभागिता समेत वृद्धि हुन गई दोस्रो बजारमा माग पक्ष समेत सदृढ हुने विश्वास बोर्डले लिएको छ।


साथै, कोषको आकार वृद्धि हुँदा उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै बोर्डले योजना व्यवस्थापकलाई जोखिम व्यवस्थापन नीति लागू गर्नुपर्ने र प्रत्येक योजनाको दबाब परिक्षण (Stress Test) गरी सो को प्रतिवेदन अनिवार्य रूपमा कोष सुपरिवेक्षक र योजना व्यवस्थापकको संचालक समितिमा छलफल गरी धारणा तथा भावी योजनासहितको दबाब परिक्षण प्रतिवेदन (Stress Testing Report) बोर्डमा पेश गर्नुपर्ने निर्देशन समेत जारी गरेको छ।यसबाट योजना संचालनका क्रममा उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरूको पहिचान हुने र सो को व्यवस्थापनका लागि योजना व्यवस्थापकले आवश्यक रणनीति तय गरी लागू गर्ने छन्।परिणामस्वरूप प्रतिकुल अवस्थामा पनि योजनालाई रिजिलियन्ट (Resilient) बनाउन मद्दत पुग्ने, योजना प्रति लगानीकर्ताको विश्वास अभिवृद्धि हुने र प्रणालीगत स्थायित्व कायम गर्न समेत सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ।

नोटः यस सम्बन्धमा बोर्डले गरेको व्यवस्था र निर्देशन विस्तृतमा https://sebon.gov.np/uploads/2026/01/16/edLfOU6AsC0cQqI4OLsCvzXv3qpwRB98lAMy5VaF.pdf मा हेर्न सकिनेछ।

२०८२ माघ ०४
नेपाल धितोपत्र बोर्ड