प्रदेश नं ५ को रुकुम (पूर्व) मा पूँजी बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न ।

बोर्डले लगानीकर्ता प्रशिक्षण कार्यक्रम दुर्गम जिल्लासहित देशभर विभिन्न स्थानहरुमा संचालन गरिरहेकोमा यही जेठ १२ गते प्रदेश नं ५ रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटमा बोर्ड तथा रुकुम (पूर्व) उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा पूँजी बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय उद्योगी, व्यापारी, विद्यार्थी, लगानीकर्ता, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणको गरी करिव १५५ जनाकोे सहभागिता रहेको उक्त कार्यक्रममा बोर्डका निर्देशक श्री अम्बिका प्रसाद गिरीले वित्तीय तथा पूँजी बजारको महत्व, पूँजी बजार संयन्त्र, कानूनी संरचना, धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, धितोपत्र व्यवसाय, लगानीकर्ता हकहित संरक्षण तथा वस्तु विनिमय बजारको परिचय र महत्वसम्बन्धी विषयहरु समेटि पूँजी बजारका परिचयात्मक तथा आधारभूत पक्ष विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

रुकुम (पूर्व) उद्योग वाणिज्य संघका अध्यक्ष श्री यज्ञ प्रकाश मल्लकोे सभापतित्वको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य माननीय कमला रोकाले भर्खरै छुट्टै जिल्लाको रुपमा स्थापित भएको हिमाली दुर्गम जिल्लालाई बोर्डले विशेष महत्व दिई पहिलो पटक यस्तो सचेतना कार्यक्रम संचालन गरेकोमा बोर्डलाई धन्यबाद दिदै यस जिल्लामा प्राथमिक बजारको पहुँच पुगेको बताउदै दोस्रो बजार विस्तारमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजी बजारको महत्वलाई प्रकाश पार्दै यसको विकासले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै राजनीतिक स्थिरता भएसँगै अबको प्राथमिकता आर्थिक विकास भएकोले सोको लागि आवश्यक पूँजी प्रवाह गर्ने माध्यमको रुपमा पूँजी बजारको विशेष भूमिका रहने बताउनुभयो । त्यसै गरी जिल्ला समन्वय समितिका सभापति गजेन्द्र बहादुर ओली र निमित्त प्रमुख जिल्ला अधिकारी श्रवण कुमार शाहले समेत सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले प्राथमिक तथा दोस्रो बजार प्रवेश गर्ने माध्यम तथा तरिका, जलविद्युतको प्राथमिक निष्काशन आदि विषयमा जिज्ञासा राख्दै स्थानीयलाई सेयर खरिद गर्न बढी प्राथमिकता दिई यस क्षेत्रका लागनीकर्ताहरुलाई समेत पूँजी बजारबाट फाइदा लिनसक्ने व्यवस्था गरिनुपर्ने, गाउँ गाउँमा पूँजी बजार तथा वित्तीय साक्षरता अभियान संचालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । सहभागीबाट राखिएको जिज्ञासाहरुको संवोधर्न कार्यपत्र प्रस्तोता तथा बोर्ड अध्यक्षले दिनु भएको थियो ।

कार्यक्रम समापन मन्तव्य दिदै कार्यक्रमका सभापति यज्ञ प्रकाश मल्लले यस्तो कार्यक्रमले आफूहरु लाभान्वित भएको बताउँदै दोस्रो बजार कारोवारको लागि धितोपत्र दलाल व्यवसायीको कार्यालय पनि यस क्षेत्रमा स्थापना गर्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रमको संचालन बोर्डका का.मु. सहायक निर्देशक श्री राजु बहादुर जि.सी.ले गर्नु भएको थियो ।

नेपाल धितोपत्र बोर्ड

मिति २०७६।०२।१३