नवनियुक्त बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूको पदबहाली ।

                                                                                       नवनियुक्त बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूको पदबहाली

              नेपाल सरकार, मन्त्री परिषदको मिति २०७६।०९।२१ को निर्णयानुसार बोर्ड अध्यक्षमा श्री भिष्मराज ढुंगानाज्यू नियुक्त हुनुभएकोमा मिति २०७६।०९।२५ मा माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाज्यूबाट पद तथा गोपनीयताको सपथ लिई नवनियुक्त अध्यक्षज्यूले सोही दिन बोर्डमा पदबहाली गर्नुभयो ।

            नवनियुक्त बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूलाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरुले स्वागत गर्नुभयो । पदवहाली ग्रहणसँगै अध्यक्ष श्री ढुंगानाज्यूले प्रथम निर्णयको रुपमा नेपाल एसबीआई बैंक लि.को “१०% नेपाल एसबीआई बैंक ऋणपत्र २०८६” निष्काशनका लागि स्वीकृति प्रदान गर्नुभयो । बोर्ड अध्यक्ष श्री ढुंगानाज्यूले सम्पूर्ण कर्मचारीलाई व्यवसायिकता अभिबृद्धि गरी धितोपत्र तथा वस्तु विनिमय बजारको विकास विस्तारमा लाग्न निर्देशन दिदै पूँजी बजारको स्थायित्व तथा दायरा अभिबृद्धि, ऋणपत्र तथा डेरिभेटि बजारको विकास, प्रविधिमैत्री पूँजी बजारको आवश्यकता, संस्थागत सुशासनको परिपालना, नियमन निकायको क्षमता विकास तथा ऐन नियम कानूनहरुमा समसामयिक सुधार गर्ने लगायतका विषयहरुमा जोड दिनुभयो । साथै, बोर्ड अध्यक्षज्यूले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्य गरी संस्थाको गरिमा अभिबृद्धि गर्न निर्देशन समेत दिनुभयो ।