SEBON Chat(Beta Version)

बोर्डमा आर्थिक वर्ष २०८२/८३ मा धितोपत्र दर्ता गरेका २७ संगठित संस्थाका अनुपालना अधिकृतलाई बोर्डले मिति २०८३/०३/२१ मा सूचीकृत संगठित संस्थाले पालना गर्नुपर्ने कानूनी व्यवस्था तथा अनुपालनाको अवस्थाका सम्बन्धमा तालिम तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक श्री दिपेश ताम्राकारले स्वागत मन्तव्य राख्दै सूचीकृत संगठित संस्थाको नियम परिपालनाको वर्तमान अवस्थाको बारेमा बताउनुभएको थियो। बोर्डका कार्यकारी निर्देशक श्री रूपेश के.सी.ले कार्यक्रमको महत्वका बारेमा प्रकास पार्दै सूचीकृत संगठित संस्थाले सूचना प्रवाह तथा संस्थागत सुशासनमा थप सुधार गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बोर्डका निर्देशक श्री शिलु प्रधानले सूचीकृत संगठित संस्थाहरुको धितोपत्र सम्बन्धी कानूनहरुको अनुपालनाको अवस्था र समस्याहरु तथा निर्देशक श्री अजय ढुङ्गानाले सूचीकृत संगठित संस्थाहरूको नियम परिपालना सम्बन्धी कानूनी व्यवस्थाहरू विषयमा प्रस्तुतिकरण दिनु भएको थियो। यस प्रकारको कार्यक्रमबाट सूचीकृत संगठित संस्थाको अनुपालना अभ्यासमा थप सुधार भई विवरण तथा सूचना प्रवाहमा सुधार हुने बोर्डले विश्वास लिएको छ।