माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूबाट बोर्डको भ्रमण गरी नियामकीय गुणस्तर (Regulatory Quality) बढाउँदै उच्च नैतिकतासहित पूँजी बजार विकास कार्य अगाडि बढाउन निर्देशन

साउन ११, २०८३ ।
 
माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूले आज नेपाल धितोपत्र बोर्डको कार्यालय भ्रमण गर्नु भई पूँजी बजार विकास सम्बन्धमा मार्गदर्शन दिनुभएको छ । माननीय मन्त्रीज्यूको उक्त भ्रमणका अवसरमा आयोजित कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालयका उच्च पदाधिकारीज्यूहरू, बोर्डको सञ्चालक समितिका सदस्यज्यूहरू एवं बोर्डका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले बोर्डका तर्फबाट माननीय मन्त्रीज्यू एवं विशिष्ट अतिथिज्यूहरूको स्वागत गर्नुभएको थियो । 
 
बोर्ड अध्यक्षज्यूले माननीय मन्त्रीज्यूलाई स्वागत गर्दै पूँजी बजारको विकास तथा विस्तारका लागि बोर्डबाट अगाडि बढाइएका कार्यहरूको संक्षेपमा जानकारी गराउनुभएको थियो । उक्त क्रममा बोर्ड अध्यक्षज्यूले पूँजी बजारको Overall vision को रूपमा Capital Market Development Blueprint तयार भई लागू गर्नुका साथै आ.व. २०८३।८४ को पूँजी बजार नीति र कार्ययोजना समेत कार्यान्वयन शुरुवात भईसकेको जानकारी गराउनुभएको थियो । त्यस्तै, पूँजी बजार विकासका लागि बोर्डले लिएका दिशा सम्बन्धमा अर्थमन्त्रीज्यूलाई जानकारी गराउँदै बोर्डबाट २०८३ साउन महिनाभित्र प्राथमिक तथा दोश्रो बजारमा उपकरणहरू (जस्तै प्रारम्भिक सार्वजनिक निष्कासन (IPO), अन्तरदिवसीय कारोबार (Intraday Trading), Margin Lending, Short-Selling लगायतका चालू आ.व. २०८३।८४ को नीति तथा कार्यक्रममा तय गरिएका विभिन्न क्षेत्रका Consultative Papers, नियम/निर्देशिका तयार गर्ने र सोमा प्राप्त सुझावका आधारमा २०८३ भाद्र महिनादेखि सरोकारवालाहरूसँग परामर्श शुरु गरी नीति, नियम, निर्देशिकालाई आवश्यक परिमार्जन गर्ने योजना रहेको जानकारी गराउनु भयो । सोही क्रममा बोर्ड अध्यक्षज्यूले पूँजी बजार विकासमा विद्यमान चुनौती र समस्या तथा पूँजी बजार नीति निर्माण र बोर्डका कर्मचारीको कार्य उत्प्रेरणा जगाउन नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न एवं अन्य आवश्यक सहयोगको लागि मन्त्रालयबाट सहजीकरणका लागि समेत माननीय मन्त्रीज्यूलाई अनुरोध गर्नुभएको थियो ।
 
माननीय अर्थ मन्त्रीज्यूले बोर्डको भ्रमणको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बोर्डबाट नियामकीय गुणस्तर (Regulatory Quality)  मा अभिवृद्धि गर्दै उच्च नैतिकतासहित पूँजी बजार विकास कार्य अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले नवनियुक्त अध्यक्षज्यूको नियुक्तिसँगै बोर्डले Long term strategy  लिएर अगाडि बढेको तथा बजार विकासको गति समाएर अगाडि बढन खोज्दा बजारमा सकारात्मक सन्देश पुगेको बताउनुभयो । सोही क्रममा उहाँले वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकको जतिकै सशक्त भूमिका रहेको नेपाल धितोपत्र बोर्डलार्इ सोही हैसियतमा पुग्ने गरी कार्य अगाडि बढाउन समेत निर्देश गर्नुभयो ।माननीय अर्थमन्त्रीज्यूले बोर्डलार्इ विचलन बिना गह्रुँगो Regulator को रूपमा विकास सँगै नेपालमा बढदो डिम्याट सँग लगानीकर्ताको अपेक्षा निकै बढेको हुँदा सोही अनुरूप संस्थागत विकासका लागि समेत निर्देशन दिनुभयो। सम्बोधनका क्रममा बोर्डबाट नीति निर्माण गर्दा Political-Economy को कोणबाट नीति निर्माण गरी सम्बद्ध पक्षहरूसँग पर्याप्त छलफल पश्चात लागू गरेमा बजारको दिगो विकासमा सघाँउ पुग्ने भएकोले बोर्डको ध्यान त्यतातर्फ हुनुपर्नेमा जोड दिनुभयो। सम्बोधन मन्तव्यको क्रममा उहाँले नयाँ सरकार तथा नयाँ नेतृत्वसँगै SEBON को कार्यपद्धतिमा परिवर्तन भएको सकारात्मक सन्देश लगानीकर्ताबीच प्रवाह भएको र नियामकीय एवं कानूनी सुधारका लागि नेपाल सरकारबाट सबै किसिमको सहजीकरण हुने बताउनुभयो ।