पूँजी बजारमा विकासमा तीव्रता ल्याउन नेप्से तथा सिडिएससँग छलफल तथा निर्देशन ।

२०८३ असार ३२: नेपाल धितोपत्र बोर्डबाट मिति २०८३ असार ३० गतेका दिन नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ र आर्थिक वर्ष २०८३।८४ को पूँजी बजार नीति तथा सोको कार्यान्वयन योजना सार्वजनिक गरिएको छ । बोर्डको नीति तथा कार्यक्रममा पूँजी बजारमा नयाँ उपकरण तथा सेवा विविधीकरण गर्ने विषयलार्इ प्राथमिकतामा राखिएको छ । बोर्डका कार्यक्रमहरूलार्इ प्रभावकारीरूपमा सम्पादन गरी बजार विकास तथा सुधारको कार्य अगाडि बढाउने क्रममा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टज्यूको समुपस्थितिमा धितोपत्र बजारका प्रमुख पूर्वाधार निकाय नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) र सिडिएस एण्ड क्लिरिङ्ग लि.(सिडिएससी) का उच्च पदस्थ पदाधिकारीसँग छलफल सम्पन्न भएको छ । छलफल आर्थिक वर्ष २०८३।८४ को पूँजी बजार नीतिमा समाविष्ट भर्इ नेप्से तथा सिडिएससीबाट सम्पादन हुनुपर्ने कार्यहरूमा केन्द्रित रहेको थियो । उक्त छलफल पश्चात बोर्डका अध्यक्षज्यूबाट बजार विकासका लागि बोर्डको नीतिमा तय गरिएका ती निकायसँग सम्बन्धित कार्यक्रमको ठोस कार्ययोजना तयार गरी बोर्डमा यथाशीघ्र पेश गर्न निर्देश गर्नु भएको छ । साथै Short Selling सेवा सञ्चालन व्यवस्था मिलाउनका लागि गर्नुपर्ने कानुनी सुधार तथा संरचनागत (जनशक्ति र प्रविधि) को आवश्यकता पहिचानसहित यथाशीघ्र कार्य अगाडि बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न बोर्ड सबै प्रकारको सहजीकरणको लागि तयार भएको समेत जानकारी गराउनुभएको छ ।