प्रदेश नं २ को सिराह र लहानमा पूँजी बजार सम्वन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

१. सिराहमा कार्यक्रमः

(क) लहान उद्योग वाणिज्य संघमा कार्यक्रम


नेपाल धितोपत्र बोर्ड तथा लहान उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही फागुन २४ गते प्रदेश नं २ को सिराहा जिल्लाको लहानमा पूँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम स्थानीय उद्योगी, व्यापारी, विधार्थीहरु, लगानीकर्ताहरु, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण गरी करिब १०० जनाको सहभागितामा सम्पन्न भएको छ । लहान उद्योग वाणिज्य संघका महासचिब अबदुल करिमले संचालन गर्नुभएको उक्त कार्यक्रममा बोर्डका सहायक निर्देशक श्री तोला कान्त न्यौपानेले धितोपत्र बजार तथा वस्तु विनिमय बजारका विवधि आयामहरु सम्बन्धमा कार्यपत्र प्रस्तुति गर्नुभएको थियो ।

लहान उद्योग वाणिज्य संघका अध्यक्ष श्री अशोक अमात्यको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले छरिएर रहेको पूँजीलाई एकत्रित गरी परिचालन गर्न सकिएमा देश विकासका लागि सहयोगी हुनुका साथै गतिशील समयमा यो बजारलाई बुझी लगानीसम्बन्धी निर्णय लिनुपर्ने समेत विचार राख्नुभयो । साथै डा. कार्कीले देश राजनैतिक स्थिरतर्फ गएकोले अबको प्राथमिकता आर्थिक विकासको रहेको र सोका लागि पूँजी बजारको महत्वपूर्ण भूमिका रहने हुँदा लगानीकर्ता सचेतना कार्यक्रममार्फत तराई मधेशका जिल्लाहरुमा समेत यस्तो सचेतना कार्यक्रम संचालन गरिएको बताउनुभयो । त्यसैगरी आफ्नो क्षेत्रको विकासका लागि चाहिने पूँजी परिचालन गर्न कानूनी व्यवस्था गरी स्थानीय स्तरको ऋणपत्र निकाल्न सकिने समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा लहान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री अशोक अग्रवालले बोर्ड यसरी तल्लो तहमा आउनु स्वागत योग्य कदम भएको कुरा बताउँदै यस कार्यक्रमका सहभागीहरुले नेपालको वित्तीय प्रणाली तथा सेयर बजारको बारेमा ज्ञान प्राप्त गरेको मन्तव्य राख्नुभयो ।
कार्यक्रमको अन्तरक्रियामा सहभागी लगानीकर्ताहरुले आफुहरुले प्राथमिक बजारबाट सहजैरुपमा खरिदगर्न सकिने व्यवस्था रहेपनि सो शेयर बिक्रीगर्न सहज नभएकोहुदाँ बोर्डले दोस्रो बजारको विस्तारमा जोड दिनुपर्ने सुझाव दिएका थिए । साथै कार्यक्रमको अन्त्यमा लगानिकर्ताहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष डा. कार्कीले लगानिकर्ता तथा यस क्षेत्रका व्यवसायीको माग भएको खण्डमा छिट्टै धितोपत्र दलालको शाखा खोल्न अनुमति प्रदान गर्न सकिने कुराको जानकारी गरायनुभयो ।


(ख) लहानका कलेजमा कार्यक्रम :

नेपाल धितोपत्र बोर्डको आयोजनामा लहानकै जे एस मुरारका बहुमुखी क्याम्पस तथा एभरेष्ट कलेजमा छुट्टाछुट्टै कार्यक्रममा बिद्यार्थीसँग धितोपत्र बोड कार्यक्रममा प्राध्यापक, शिक्षक तथा बिद्यार्थी गरी करिब ३०० जनाको सहभागितामा सम्पन्न भएको छ । सो कार्यक्रममा प्रस्तुतीको साथै प्रश्नोत्तर कार्यक्रम समेत भएको थियो ।

२. धनुषाको जनकपुरधाममा कार्यक्रम :

नेपाल धितोपत्र बोर्ड तथा जनकपुरधाम उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही फागुन २५ गते प्रदेश नं २ को राजधानी जनकपुरधाममा पूँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम स्थानीय उद्योगी, व्यापारी, राजनैतिक व्यक्तित्व, विधार्थीहरु, लगानीकर्ताहरु, सरकारी निकायका पदाधिकारी, स्थानिय निकायका सदस्यहरु, व्यवसायी, पत्रकार तथा सर्वसाधारण गरी करिब १५० जनाको सहभागितामा सम्पन्न भएको छ । बोर्डका सहायक निर्देशक श्री तोला कान्त न्यौपानेले नेपालको पूजीं बजार सम्बन्धी एक झलक बिषयमा कार्यपत्र प्रस्तुति गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री निर्मल कुमार थौधरीको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, धनुषाका संयोजक श्री रामदेव यादवले सर्वसाधरणलाई समग्रमा हितहुने गरी शेयर बजारको विस्तार गर्नुपर्ने तथा चिनी उद्योगको उदाहरण दिदै उद्योगी व्यापारीले पनि जनतालाई हित हुने गरि लगानी गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोर्डका अध्यक्ष डा. कार्कीले बोर्ड पूँजी बजारलाई देशव्यापी बनाउनका लागि लागिपरेको तथा प्रदेश नं. २ को विरगञ्जमा मात्र केन्द्रित रहेको धितोपत्रको दोस्रो बजारलाई छिट्टै प्रदेश नं. २ को राजधानी जनकपुरमा ब्रोकरको शाखा कार्यालय मार्फत दोस्रो बजारको कारोबार गराउने र प्रदेश स्तरीय बोर्डको कार्यालय क्रमश स्थापना गर्दै जाने बोर्डको नीति रहेको व्यहोरा उल्लेख गर्नुभयो । साथै बोर्डले निरन्तर रुपमा यस किसिमका लगानीकर्ता सचेतना कार्यक्रम संचालन गरिरहेको विचार व्यक्त गर्दै देशको आर्थिक सम्वृद्धिका लागि आवश्यक हुने पूँजी परिचालनमा प्रदेश नं. २ का लगानीकर्ताको समेत भूमिका रहने भनाई राख्नुभयो ।

उक्त कार्यक्रममा अर्थशात्री डा. सुरेन्द्र लाभ, नेपाल पत्राकार महासंघ धनुषका अध्यक्ष श्री दिपेन्द्र शाह, पुजीं बजार लगानीकर्ता संघ प्रदेश नं.२ का संयोजक सरोज उप्रेती लगायतले यसखाले कार्यक्रमले प्रदेश नं.२ का जानतालाई शेयर बजार सम्बन्धी जानकारी प्रदान गर्न सहयोग गरेकोले सोको निरन्तरताको माग गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा जिल्ला जनकपूर उ.वा.संघका महासचिव श्री जितेन्द्र कुमार महासेठले स्वागत मन्तव्य दिनुभएको थियो भने बोर्डका का.मु. सहायक निर्देशक श्री राजु बहादुर जि.सि.ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

नेपाल धितोपत्र बोर्ड चैत्र ३, २०७५