सोलुखुम्बू र ओखलढुंगामा पूँजी बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न ।

बोर्डले लगानीकर्ता प्रशिक्षण कार्यक्रम दुर्गम जिल्लासहित देशभर विभिन्न स्थानहरुमा संचालन गरिरहेकोमा प्रदेश नं. १ को १४ जिल्लामध्ये १२ जिल्लामा यसअघि नै उक्त कार्यक्रम सम्पन्न गरिसकेको र बाकीँ दुईवटा जिल्लाहरु सोलुखुम्बु र ओखलढुंगामा हालसालै पूँजी बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता सचेतना तथा अन्र्तक्रिया कार्यक्रम स्थानीय उद्योगी, व्यापारी, विद्यार्थी, लगानीकर्ता, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणको सहभागितामा सम्पन्न गरेको छ । दुवै कार्यक्रममा बोर्डका निर्देशक श्री रुपेश के.सी.ले वित्तीय तथा पूँजी बजारको महत्व, पूँजी बजार संयन्त्र, कानूनी संरचना, धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, धितोपत्र व्यवसाय, लगानीकर्ता हकहित संरक्षण तथा वस्तु विनिमय बजारको परिचय र महत्वसम्बन्धी विषयहरु समेटि पूँजी बजारका परिचयात्मक तथा आधारभूत पक्ष विषयक कार्यपत्र प्रस्तुति गर्नुभयो । बोर्डले हालसम्म ७१ जिल्लामा लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।

क) सोलुखुम्बू कार्यक्रमः सोलुखुम्बू जिल्लाको सरदमुकाम सल्लेरीमा बोर्ड तथा सोलुखुम्बू उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संचालित सचेतना कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो । सोलुखुम्बू उद्योग वाणिज्य संघका अध्यक्ष श्री जय प्रसाद राईको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सोलुखुम्बू जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र कुमार राना मगरले बोर्डले पूँजी बजार विकास विस्तारमा देखाएको अग्रसरताका कारण देशभर प्राथमिक बजारको पहुँच पुगेको बताउदै दोस्रो बजार विस्तारमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजी बजारको महत्वलाई प्रकाश पार्दै यसको विकासले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै, उहाँले राजनीतिक स्थिरता भएसँगै अबको प्राथमिकता आर्थिक विकास भएकोले सोको लागि आवश्यक पूँजी प्रवाह गर्ने माध्यमको रुपमा पूँजी बजारको विशेष भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले प्राथमिक बजार प्रवेश गर्ने माध्यम तथा तरिका, जलविद्युत बाहेक पूँजी बजारबाट सोलुखुम्बू जिल्लाका वासिन्दाले फाइदा लिनसक्ने सम्भावित क्षेत्र तथा दोस्रो बजारको प्राविधिक पक्षहरुका विषयमा जिज्ञासा राख्दै बोर्डबाट स्वीकृति नलिई जलविद्युत कम्पनीको सेयर जारी भएमा बोर्डले निष्काशनकर्तालाई कडा कारवाही गर्नुपर्ने, स्थानीयलाई सेयर खरिद गर्न बढी प्राथमिकता दिई गृहणीहरुले समेत पूँजी बजारबाट फाइदा लिनसक्ने व्यवस्था गरिनुपर्ने, गाउँ गाउँमा पूँजी बजार तथा वित्तीय साक्षरता अभियान संचालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । सहभागीबाट राखिएको जिज्ञासाहरुको संवोधन बोर्ड अध्यक्ष तथा कार्यपत्र प्रस्तोताले गर्नुभयो ।

ख) ओखलढुंगा कार्यक्रमः ओखलढुंगा जिल्लाको सदरमुकाम ओखलढुंगामा बोर्ड तथा ओखलढुंगा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संचालित कार्यक्रममा करिब १२५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि ओखलढुंगा जिल्ला समन्वय समितिका सभापति श्री जय बहादुर श्रेष्ठले देशभर विभिन्न जिल्लामा पूँजी बजारसम्बन्धी सचेतना कार्यक्रम गर्नु सकारात्मक कार्य भएको बताउँदै अब स्थानीय तहसम्म यस्ता कार्यक्रम आयोजना हुनुपर्ने बताउनुभयो । त्यस्तै अर्का विशेष अतिथि सिद्धिचरण न.पा.का मेयर श्री मोहन कुमार श्रेष्ठले सरकारले राखेको आर्थिक सम्बृद्धिको लक्ष्य पूरा गर्ने महत्वपूर्ण माध्यमको रुपमा रहेको पूँजी बजारसम्बन्धी सचेतना कार्यक्रम राज्यको पुर्नसंरचनासँगै स्थानीय तहसम्म आउनु स्वागतयोग्य रहेको बताउदै दोस्रो बजारलाई पनि देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथि ओखलढुंगा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश आचार्यले अझै पनि केही ठाउँमा ढुंग्रोमा पैसा राख्ने चलन रहेकोले पूँजी परिचालनमा Paradigm Shift गर्न लगानीकर्ता सचेतना, प्रशिक्षण तथा वित्तीय साक्षरता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले प्राथमिक बजार देशव्यापी भइसकेको सन्दर्भमा आर्थिक गतिविधि, लगानीकर्ताको संख्या, दोस्रो बजारमा विद्यमान जोखिम लगायतका विषयलाई मध्यनजर गरी देशका विभिन्न स्थानमा दोस्रो बजार पहुँच पुर्याइने बताउदै पूँजी बजार विकास र विस्तार गरी देशभर छरिएर रहेको स–साना पूँजी संकलन गर्दै राष्ट्रिय पूँजी निर्माण गर्न सहज वातावरण बनाउन बोर्ड अग्रसर रहेको बताउनुभयो । कार्यक्रमको सभापतित्व गर्नुभएका ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष श्री ज्ञानेन्द्र कुमार मास्केले ओखलढुंगा जिल्ला डिम्याट खाताको आधारमा प्रदेश नं. १ को मोरङ, झापा, सुनसरी र इलामपश्चात् बढी डिम्याट खाता (करीब ८,०००) खोलिएको जिल्ला भएको तथा उक्त जिल्ला सोलुखुम्बू, खोटाङ, उदयपुर र सिन्धुलीको उत्तरी भागका लगानीकर्ताहरुलाई समेत पाएक पर्ने हुनाले ओखलढुंगामा दोस्रो बजारको पहुँच पुर्याउन ब्रोकर कार्यालय स्थापना भएमा धरै लगानीकर्ताले सजिलै दोस्रो बजार सेवा प्राप्त गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले सर्किट ब्रेकरसम्बन्धी व्यवस्था, आस्वा तथा सी–आस्वा प्रणाली, पूँजी बजार अर्थतन्त्रको ऐना हुनुको कारण, दोस्रो बजार थपघटका कारण, मर्जर तथा एक्विजिशनका कारण बैंक वित्तीय संस्थाको सेयर कारोवारमा विलम्ब हुँदा पर्ने प्रभाव लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो भने प्राथमिक बजारको पहुँच देशव्यापी भएसँगै दोस्रो बजार सेवा प्राप्त गर्न लगानीकर्ता इच्छुक भएकोले ओखलढुंगामा तत्काल ब्रोकर कार्यालय स्थापना हुनुपर्ने, सार्वजनिक निष्काशन गर्ने कम्पनीले सेयर निष्काशन गर्दा प्रक्षेपण गरेको वित्तीय विवरण र वास्तविक विवरणका विषयमा बोर्डले हेर्नुपर्ने, मर्जर तथा एक्विजिशनका कारणले लामो समयसम्म सेयर कारोवार हुन नसकेकोले मर्जर तथा एक्विजिशनको कार्य चाडै टुंग्याउनुपर्ने सुझाव दिनुुभएको थियो । सहभागीबाट राखिएको जिज्ञासाहरुको संवोधन बोर्ड अध्यक्ष तथा कार्यपत्र प्रस्तोताले गर्नुभयो ।

कार्यक्रमपश्चात् बोर्ड अध्यक्ष डा.कार्की तथा सोलुखुम्बू र ओखलढुंगामा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरुबीच आस्वा तथा निक्षेप सेवासम्बन्धमा छलफल भएको थियो । दुबै कार्यक्रमको संचालन बोर्डका का.मु. सहायक निर्देशक श्री राजु बहादुर जि.सी.ले गर्नुभएको थियो ।