प्रदेश नं २ को राजधानी जनकपुरधाममा पत्रकारहरुको लागि पहिलो प्रदेशगत आर्थिक तथा धितोपत्र बजार सम्बन्धी प्रशिक्षण ।

बोर्डको आ.व. २०७५।७६ को वार्षिक कार्यक्रममा प्रदेशहरुमा पत्रकारहरुलाई आर्थिक तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहे अनुसार बोर्डबाट हालै प्रदेश नं २ को राजधानी जनकपुरधाममा पहिलो पटक आर्थिक तथा धितोपत्र बजारसम्बन्धी तालिम-प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रदेश नं. २ मा पत्रकारिता गरिरहनुभएका करिब ८५ जना पत्रकारहरुको उपस्थिति रहेकोे थियो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीयज्यूको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं २ का माननीय आर्थिक मामिला तथा योजना मन्त्री श्री विजय कुमार यादवज्यूले यस प्रदेशमा बोर्डले धितोपत्र कारोबार शुरुवात गराएकोमा खुसी व्यक्त गर्दै यस प्रदेशका पत्रकारज्यूहरुलाई महत्व दिई प्रदेशमा यस्तो पहिलो कार्यक्रम संचालन गर्नुभएकोमा आयोजकलाई विशेष धन्यवाद दिनुभयो । साथै प्रदेश सरकारले आर्थिक संवृद्धिका लागि यस क्षेत्रमा आर्थिक गतिविधिलाई प्राथमिकता दिई अगाडि बढाईरहेको सन्र्दभमा धितोपत्र बजारबाट सर्वसाधारणले समेत फाईदा पुग्ने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा विशेष अतिथि प्रदेश नं २ का प्रदेशसभाका सदस्य माननीय श्री राम आशिष यादवले पूर्वाधार विकासका लागि आवश्यक रहने पूँजी आवश्यकता पूँजी बजारमार्फत संकलन गर्न सकिने भएकोले सोतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने भनाई राख्नुभयो । त्यसैगरी यस क्षेत्रका लगानीकर्ताहरुले जनकपुर बाट नै धितोपत्र कारोबार गर्न सक्ने व्यवस्था गरेकोमा बोर्डलाई धन्यवाद दिनुभयोे ।
त्यसैगरी कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष श्री पुष्पराज आचार्यले बोर्डले मोफसलमा पत्रकारिता गरिरहनुभएका पत्रकारहरुलाई लक्षित गरी आर्थिक तथा धितोपत्र बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरुवात गरेकोमा विशेष धन्यवाद दिदैं सेजन बोर्डसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले आम जनमानसलाई सूचना दिने विषय गम्भीर रहेकोले विशेषतः आर्थिक विषयमा समाचार लेखनका क्रममा तथ्यहरुमा आधारित भई सही समाचार सरल रुपले लेख्नु पर्ने धारणा समेत राख्नुभयो ।


उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक श्री परीष्टनाथ पौड्यालले सहभागीहरुलाई स्वागत गरी कार्यक्रम बारेमा प्रकाश पार्दै बोर्डको वार्षिक कार्यक्रममा उपत्यका बाहिर कार्य गरिरहनुभएका पत्रकारहरुलाई आर्थिक तथा धितोपत्र बजार सम्बन्धी जानकारी दिने शुरुवात गरेको धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति तथा बोर्ड अध्यक्ष डा. कार्कीले नेपालको अर्थतन्त्रको परिचयात्मक पक्षको साथै अर्थतन्त्र र धितोपत्र बजार बीचको सम्बन्धका विषयमा र यी पक्षहरुलाई बुझने तथा विश्लेषण गर्ने तरीका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने बोर्डका निर्देशक श्री नारायण प्रसाद शर्माले धितोपत्र बजार, प्राथमिक बजार, दोस्रो बजार, धितोपत्र व्यवसायी जस्ता विषयका परिचयात्मक तथा आधारभूत पक्षसहित धितोपत्र बजार सम्बन्धी लेखनका क्रममा तथ्यमा आधारित, पूर्ण, आधिकारिक, सरल, समसामयिक, सन्तुलित रुपमा लेखन गनुपर्ने सम्बन्धी कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । सो कार्यक्रममा विज्ञ आर्थिक पत्रकार श्री लोक बहादुर चापागाईले पत्रकार र सञ्चार माध्यमको कर्तव्य र गर्न नहुने काम जस्ता विषयहरु समेटिएको मोफसलमा धितोपत्र बजार र समाचार संप्रेषण विषयक कार्यपत्र प्रस्तुति रहेको थियो ।


सो पश्चातको अन्तरक्रियामा सहभागी पत्रकारले शेयर निष्काशनमा स्थानीय तथा संस्थाका कर्मचारीहरुलाई विशेष सुविधा किन दिइएको, सूचीकृत कम्पनीले सूचना प्रवाह समयमा गर्ने नगरेको, निजी कम्पनीहरुलाई शेयर निष्काशन सम्बन्धी व्यवस्था, जलविधुत कम्पनीको नियमन सम्बन्धी कानूनी व्यवस्था गरिनुपर्ने र मोफसलमा धितोपत्र बजार विस्तार सम्बन्धमा आफ्नो जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा उठेका प्रश्नहरुको प्रत्युत्तर बोर्डका कार्यकारी निर्देशक पौड्याल र सम्बन्धित कार्यपत्र प्रस्तोताले दिनुभएको थियो ।
कार्यक्रममा बोर्ड अध्यक्ष डा. कार्कीले बोर्डले यसअघि सर्वसाधारण लगानीकर्ता तथा स्थानीयहरुलाई मात्र सचेतना कार्यक्रम गदैं आएकोमा यस आ.व. देखि मोफसलमा पत्रकारिता गर्ने पत्रकारहरुलाई समेत प्रदेशगत तालिम प्रशिक्षण कार्यक्रम प्रदेश नं बाट शुरुवात गरेको धारणा राख्नुभयो । प्राथमिक बजारमा लगानीकर्ताले नेपालको कुना कुनाबाट सहभागी हुने अवसर प्राप्त गरिसकेको तथा धितोपत्रको दोस्रो बजारमा समेत नयाँ प्रणाली आए पश्चात शेयर कारोबार हुन सक्ने अवस्थालाई मध्यनजर गरी यो कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै पत्रकारहरुले आर्थिक समाचार संप्रेषण गर्दा विशेष ध्यान दिनुपर्ने विषयमा जोड दिनुभयो । बोर्डका का.मु. सहायक निर्देशक श्री राजु बहादुर जि.सि. ले उक्त कार्यक्रम संचालन गर्नुभएको थियो ।

नेपाल धितोपत्र बोर्ड

मिति २०७६।०२।०२