पहिलो नियमित पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रमको शुरुवात

बोर्डले आ.व. २०७५।७६ को स्वीकृत धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम अनुसार नयां लगानीकर्ताहरुलाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा धितोपत्र बजारसम्बन्धी निरन्तर प्रशिक्षण तथा जनचेतना अभिबृद्धि र लगानीकर्ताहरुको जिज्ञासाहरु सम्बोधन गर्न स्टक एक्सचेञ्जसंगको सहकार्यमा पाक्षिकरुपमा काठमाडौं उपत्यकाको उपयुक्त स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने कार्यक्रमको कार्यान्वयन कार्य गर्न मिति २०७५ श्रावण २५ शुक्रबारका दिन पहिलो पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रमको शुरुवात गरेको छ । लगानीकर्तासम्बद्ध संघसंस्थाहरु, व्यक्तिगत लगानीकर्ताहरुका साथै नेप्से, सिडिएसि, क्रेडिट रेटिङ्ग संस्था, मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरु तथा आर्थिक पत्रकारहरु सहित करिब ६० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौड्यालले सचेत एवं विवेकशील लगानीकर्ताको माध्यमबाट स्वच्छ, पारदर्शी र परिपक्व धितोपत्र बजारको विकासमा सहयोग पुग्ने बताउनु भएको थियो भने उक्त कार्यक्रम बोर्डका निर्देशक डा.नबराज अधिकारीले संचालन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन सत्रको शुरुवात गर्दै बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले बोर्डको निरन्तर प्रयासका कारण धितोपत्र बजारको सेवामा विस्तार मात्र नभई उक्त सेवा सुविधाको उपभोग देशका दुर्गम जिल्लाहरुबाट समेत भइरहेको बताउँदै पछिल्लो समय आधुनिकतातर्फ उन्मुख हुँदै गएको नेपालको धितोपत्र बजारमा नयाँ लगानीकर्ताहरुको समेत प्रवेश भइरहेको सन्दर्भलाई दृष्टिगत गरी पूँजी बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्य बमोजिम बोर्डले आ.व. २०७५।७६ देखि आगामी दिनमा निरन्तर सञ्चालन हुने गरी यस पाक्षिक लगानीकर्ता सचेतना अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी अधिकांश विषयवस्तुहरु समेटी निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । साथै, यसको निरन्तरता एव प्रभावकारिताका लागि जिम्मेवार पक्षहरुको सहयोग एवं सहकार्यको अपेक्षा समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रमका अतिथि नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) का महाप्रबन्धक श्री चन्द्रसिंह साउदले बोर्डबाट आयोजना भएको यस कार्यक्रमले नेपालको धितोपत्र बजारमा सर्वसाधारणमा बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस प्रकारको कार्यक्रमको निरन्तरताका लागि नेप्सेले आवश्यक सहयोग तथा सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमको दोस्रो चरणमा बोर्डका उप निर्देशक श्री नारायण प्रसाद शर्माले उपस्थित लगानीकर्ताहरुलाई धितोपत्र तथा वस्तु विनिमय बजारका विविध पक्षहरुसम्बन्धी विस्तृतरुपमा प्रस्तुति गर्नुभएको थियो । विशेष उत्साहका साथ कार्यक्रममा सहभागी भएका लगानीकर्ताहरुबाट धितोपत्रको प्राथमिक निष्काशनमा सामूहिक लगानी कोषलाई दिइएको संरक्षण, अनलाइन कारोबार प्रणाली, थप निष्काशनमा मूल्य निर्धारण विधि लगायतका विषयमा जिज्ञासा राखेको लगानीकर्ताले यस प्रकारको प्रशिक्षण कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताएका थिए ।