नेपाल आर्थिक पत्रकार संघका नवनिर्वाचित पदाधिकारीसँग भेटघाट सम्पन्न

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीहरुको प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूसँग मिति २०७७।०९।०९ मा बोर्डको कार्यालय जावलाखेलमा भेट गरेको छ । प्रतिनिधिमण्डलको नेतृत्व नेपाल आर्थिक पत्रकार संघका नवनिर्वाचित अध्यक्ष श्री मोद नाथ ढकालले गर्नुभएको थियो ।

उक्त अवसरमा बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूले नाफिजका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । भेटमा नाफिजका नवनिर्वाचित अध्यक्ष श्री मोद नाथ ढकालले सूचना प्रवाहमा सहजीकरण गर्न अनुरोध गर्दै धितोपत्र बजार संवेदनशील विषय भएकोले यससम्बन्धी सूचना सम्प्रेषण गर्दा पत्रकार स्वयंले समेत सावधानी अपनाउनुपर्ने बताउनुभयो । साथै, उहाँले नाफिजको भावी योजनाका सम्बन्धमा प्रकाश पार्नुभयो ।


भेटका क्रममा बोर्ड अध्यक्ष श्री ढुंगानाज्यूले नाफिजले एक दशक भन्दा लामो यात्रा तय गरेको स्मरण गर्दै पत्रकारमार्फत् धितोपत्र बजारसम्बन्धी जानकारीका साथै सरोकारवालालाई मार्गदर्शन समेत प्रदान गरी पूँजी बजारको विकासमा महत्वपूर्ण योजदान दिइरहेको सम्बन्धमा प्रकाश पार्नुभयो । उहाँले पछिल्लो एक वर्षमा नै डिम्याट खाता हुने लगानीकर्ताको संख्या १६ लाखबाट २३ लाख पुगेको, दास्रो बजारमा अनलाइन कारोवार प्रयोगकर्ताको संख्या २२ हजारबाट २ लाख २० हजार पुगेको, नेप्से सूचकांक, कारोवार रकम तथा संख्या लगायत दोस्रो बजारका अन्य परिसूचकले नयाँ रेकर्ड कायम गरिरहेको, प्रारम्भिक सार्वजनिक निष्काशनमा लगानीकर्ताको आकर्षण बढिरहेको, प्राथमिक बजारमार्फत् वास्तविक क्षेत्रका कम्पनीहरुले पूँजी परिचालन गर्न अग्रसर रहेको सन्दर्भलाई जोड्दै पछिल्लो समय धितोपत्र बजारको विकास विस्तार भइरहेको बताउनुभयो । त्यस्तै, उहाँले बोर्डले भर्खरै ICT Operation Manual लागू गरेको, e-KYC निर्देशिका स्वीकृत गरी कार्यान्वयन गर्न पठाएको तथा बोर्डमा बजार सहभागीले सूचना प्रवाह गर्दा Electronic Reporting System मार्फत् गर्न सक्ने व्यवस्था गर्न लागिएको बताउँदै दोस्रो बजार कारोवारमा बैंक इन्टिग्रशन गर्ने तथा ब्रोकरको टिएमएसलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउनुभयो । बोर्ड अध्यक्ष ढुंगानाज्यूले धितोपत्र बजार विकास तथा विस्तारका विषयमा थप प्रकाश पार्दै धितोपत्र बजारमा स्टक डिलर प्रवेश गर्न लागेको, विशिष्टिकृत लगानी कोष व्यवस्थापकलाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा रहेको, बोर्डले O&M सर्भे सम्पन्न गरी नयाँ संगठन संरचना लागू गर्नेे क्रममा रहेको तथा वस्तु विनिमय बजारसम्बन्धी कार्य अगामी दिनमा अगाडि बढ्ने जानकारी दिनुभयो । उक्त भेटमा बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले धितोपत्र बजारमा सूचनाको महत्वपूर्ण भूमिका हुने बताउँदै नाफिजका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।