आ.व. २०७६।७७ मा बोर्डले लिने धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न ।

बोर्डले आगामी आर्थिक वर्ष २०७६।७७ मा लिने धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमसम्बन्धमा मिति २०७६ असार ३ मा सुझाव तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा बोर्डका पूर्व अध्यक्ष, नेप्से तथा सिडिएससका महाप्रबन्धक, विश्वविद्यालयका प्राध्यापकहरु, अध्ययन/अनुसन्धानकर्ताहरु, नेप्से तथा सिडिएसका प्रतिनिधिहरु, धितोपत्र बजार व्यवसायीका अध्यक्ष तथा सहभागीका प्रतिनिधिहरु तथा लगानीकर्ता संघका पदाधिकारीहरु र आर्थिक पत्रकारहरु गरी करिब १०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा पूर्व बोर्ड अध्यक्ष श्री बाबुराम श्रेष्ठले बोर्डको प्रगति उल्लेखनीय रहेको बताउँदै जलविद्युत क्षेत्रको नियमनका लागि बोर्डले उक्त क्षेत्रको नियमन निकायसँग आवश्यक समन्वय गर्नुपर्ने, म्युचुअल फण्डको लगानी क्षेत्रसम्बन्धी नियमावलीमा रहेको व्यवस्थामा थप स्पष्टता ल्याइनुपर्ने सुझावहरु दिनुभएको छ भने नेपाल स्टक एक्सचेञ्ज लि.का महा प्रबन्धक श्री चन्द्र सिंह साउदले प्राथमिक बजारजस्तै दोस्रो बजारलाई समेत प्रविधिमैत्री बनाइएको तथा स्टक डिलरको मोडालिटी तयार भएको बताउँदै स्टक डिलरको बजार प्रवेशसम्बन्धमा बोर्डको आगामी आ.व. को नीति तथा कार्यक्रममा समावेश भएमा यसलाई कार्यान्वयन गर्न सहज हुने धारणा राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक श्री कुल प्रसाद पाण्डेले सरकारी तथा नियमन निकायहरुको नीतिगत अस्थिरताका कारण धितोपत्र बजारले अपेक्षित गति लिन नसकेको अवस्थामा बजारको विकास तथा विस्तारका लागि बोर्डले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने तथा सम्पति शुद्धीकरणसम्बन्धी गतिविधिलाई निरुत्साहित गर्न बोर्डले नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । उप प्राध्यापक श्री वासुदेव उपाध्यायले वस्तु विनिमय बजारको विकासका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधारका लागि शिघ्र पहल गर्नुपर्ने बताउनुभयो भने अर्का उप प्राध्यापक डा. बलराम चापागाईले सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिहरुलाई समसामयिक तथा गुणात्मक बनाउनुपर्ने बताउनुभयो । यस्तै विज्ञ तथा कानून व्यवसायी श्री अमृत खरेलले वस्तु विनिमय बजारलाई कृषि उपजहरुसँग आवद्ध गरी कृषि उपजहरुको उत्पादन तथा बजार प्रवद्र्धन हुने वातावरण तयार गर्नुपर्ने अन्यथा यस बजारको उपादेयिता अपेक्षित रुपमा पूरा नहुने, आर्थिक पत्रकारहरुले धितोपत्र बजारमा लगानी गर्न हुने नहुने, हुने भएमा हित बाझिन (Conflict of Interest) नहुने सुनिश्चित गर्न कानुनी व्यवस्थाहरुको अभावले समेत हाल बजारमा विकृति बढेको तथ्य औंल्याउदै यसमा नियमन निकाय चनाखो हुनुपर्ने सुझाव दिनुभयो । उहाँले दोस्रो बजारमा हुने भित्री कारोबार नियन्त्रणका लागि डाटाबेश तयार गर्नुपर्ने, आर्थिक पत्रकारहरुका लागि प्रेस काउन्सिलसँगको समन्वयमा आचारसंहिता तयार गर्नुपर्ने, अध्ययन अनुसन्धानमा आधारित नियम कानुन तर्जुमा गर्नुपर्ने लगायतका सुझावहरु दिनुभयो ।
मर्चेन्ट बैकर्स संघका पूर्व अध्यक्ष श्री प्रविणरमण पराजुलीले बीमा कम्पनीहरुसँग रहेको दीर्घकालिन कोष परिचालनका लागि परिवर्तिनशील ऋणपत्र तथा अग्राधिकार शेयर (Convertible Debenture and Preferred Stock) को निष्काशन तथा प्रवद्र्धन गर्नुपर्ने तथा दोस्रो बजारलाई गतिशिल बनाउनुपर्ने लगायतका सुझावहरु दिनुभएको छ भने नागरिक लगानी कोषका श्री रोशनजंग कार्कीले दीर्घकालीन ऋणपत्रको निष्काशन तथा दोस्रो बजारको विकास तथा विस्तारमा ध्यान दिनुपर्ने साथै स्टक डिलरको सम्बन्धमा आवश्यक कानूनी व्यवस्था शीघ्र गर्नुपर्ने सुझाव दिनुभएको छ । यस्तै लगानीकर्ता श्री दीलिप मुनाकर्मीले लगानीकर्ता प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, सूचना प्रवाहमा शुद्ध, एकरुपता एवं पर्याप्त हुनुपर्ने र यसमा नेप्सेले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने जस्ता सुझावहरु दिनुभएको थियो ।

यस्तै विभिन्न लगानीकर्ता संघसंस्थाका प्रतिनिधिहरुले पछिल्लो समय बोर्डले लगानीकर्तालाई समेत आभास हुने गरी कार्य गरेको बताउँदै आगामी दिनमा गैर आवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउन ठोस व्यवस्था गर्नुपर्ने, वार्षिक साधारण सभा समयमै सम्पन्न नगर्ने सूचीकृत कम्पनीहरुलाई कारवाही गर्नुपर्ने साथै उक्त सभालाई प्रविधिमैत्री बनाउनुपर्ने, बोर्डको सुपरिवेक्षणलाई गतिशिल एवं आधुनिक बनाउनुपर्ने लगायतका सुझावहरु दिएका छन् । रेटिङ्ग एजेन्सीका प्रतिनिधिहरुले रेटिङ्ग कम्पनीवीच हुने प्रतिस्पर्धालाई गुणात्मक बनाउन रेटिङ्ग शुल्क निश्चित गर्नुपर्ने, प्राप्त रेटिङ्गलाई ग्राहकले स्वीकार नगरेतापनि सार्वजनिक गर्नुपर्ने व्यवस्था हुनुका साथैं रेटिङ्ग व्यवसायमा विदेशी प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने जस्ता सुझावहरु बोर्डलाई प्राप्त भएका छन् । धितोपत्र बजारमा अध्ययन एवं विश्लेषण कार्यलाई व्यवस्थित गर्नका लागि बोर्डले निश्चित सीमा तोकी योग्य व्यक्ति तथा संस्थालाई विश्लेषकको अनुमतिपत्र प्रदान गर्नुपर्ने सुझाव समेत प्राप्त भएको छ ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका बोर्ड अध्यक्ष डा. कार्कीले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा प्रवेश गराउनका लागि कर छुट, प्रिमियम मूल्यमा धितोपत्र निष्काशन लगायतका व्यवस्थाहरु भएकोमा यस्ता कम्पनीहरुलाई थप आकर्षित गर्नका लागि बुक बिल्डिङ्ग विधि प्रयोगमा ल्याउने योजना अनुरुप बोर्ड अघि बढेको, विकासको महत्वपूर्ण साधनको रुपमा रहेको भेन्चर क्यापिटल, प्राइभेट इक्विटी लगायतका विशिष्टीकृत लगानी कोष सञ्चालन तथा नियमनका लागि कानूनी वातावरण तयार भएको, बोर्डको सुझाव अनुसार नेपाल सरकारले बजेट वक्तव्यमा ट्रष्ट ऐन तर्जुमा गर्ने नीति लिएको, ब्रोकरहरुको भ्याटको समस्या समाधान भएको बताउँदै स्टक डिलरको अनुमति दिने कार्य अगाडि बढाइने जानकारी दिनुभयो । उहाँले कार्यक्रममा प्राप्त भएका रचनात्मक सुझावहरुलाई समावेश गरी आगामी वर्षको नीति तथा कार्यक्रम जारी गर्न बोर्ड प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आ.व. २०७४।७५ देखी बोर्डले धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रमको सार्वजनिक प्रकाशनको शुरुवात गरेको स्मरण गर्दै बोर्डलाई थप जिम्मेवार, अनुशासित र जवाफदेही बनाउन यस कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउँदै बोर्डको आगामी आ.व.को नीति तथा कार्यक्रमका लागि उपस्थित भई सुझाव दिने सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिनुभयो ।
बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौड्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको सो कार्यक्रममा धितोपत्र बजारको वर्तमान अवस्था, बोर्डको कार्य प्रगति र भावी चुनौतीहरुका सम्बन्धमा बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियोे भने बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले छलफल तथा अन्र्तक्रिया सत्रको सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रम बोर्डका निर्देशक श्री अम्बिका प्रसाद गिरीले सञ्चालन गर्नुभएको थियो ।